देश

एमालेको भविष्यबारे गुण्डुमा ओली–भण्डारी संवाद, नेतृत्व परिवर्तनसम्म चर्चा

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्संरचनाबारे बहस तीव्र भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार लामो छलफल भएको  थियो । भक्तपुरको गुण्डुस्थित निवास पुगेकी भण्डारीले शल्यक्रियापछि आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पार्टीभित्र विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि विस्तृत संवाद गरेको स्रोतले जनाएको छ। दुई नेताबीच करिब दुई घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ।

एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्ने बहस चलिरहेका बेला केही नेताहरूले भण्डारीलाई पार्टी पुनर्गठनको सम्भावित नेतृत्वका रूपमा अघि सारिरहेका छन्। त्यसकै सन्दर्भमा पछिल्ला भेला, नेताहरूको सक्रियता तथा संगठनभित्र देखिएको ध्रुवीकरणबारे पनि ओली–भण्डारीबीच समीक्षा भएको बुझिएको छ।
पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक रूपमा एमालेको विकास र विस्तारमा आफू सक्रिय हुन चाहेको संकेत दिँदै आएकी छन्। तर पार्टी सदस्यता स्थगित अवस्थामै रहेकाले उनको औपचारिक भूमिकाबारे अझै स्पष्टता आएको छैन।

पछिल्लो समय ओली र भण्डारीबीचको सम्बन्ध पुनः सहज बन्दै गएको चर्चा एमाले वृत्तमा छ। ओलीले नेतृत्व हस्तान्तरण गर्ने अवस्था आए भण्डारीलाई अन्तरिम नेतृत्वमा अघि सार्ने विकल्पबारे समेत पार्टीभित्र अनौपचारिक बहस भइरहेको बताइन्छ। त्यसका लागि ओलीको समर्थन निर्णायक हुने आकलनका बीच भण्डारीले ओलीसँगको संवादलाई निरन्तरता दिएको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *