देश

पाकिस्तानको बन्नुमा प्रहरी चौकीमा आत्मघाती हमला, १५ प्रहरीको मृत्यु

काठमाडौं । पाकिस्तान को खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु क्षेत्रमा रहेको एक प्रहरी चौकीमा भएको भीषण आतंककारी हमलामा १५ जना प्रहरीको मृत्यु भएको छ । खैबर पख्तुनख्वा अन्तर्गत बन्नु सहरको फतेह खेल क्षेत्रमा भएको उक्त घटनामा विस्फोटक पदार्थ बोकेको सवारीसाधन प्रहरी चौकीमा ठोक्किएपछि ठूलो विस्फोट भएको जनाइएको छ ।

बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युट का प्रवक्ता नोमान खानका अनुसार घटनामा मृत्यु हुने सबै सुरक्षा कर्मचारी हुन् । साथै तीन जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ । यसअघि सुरक्षाकर्मीहरूले भग्नावशेषबाट १२ जनाको शव निकालिएको र तीन जनालाई जीवितै उद्धार गरिएको विवरण सार्वजनिक गरेका थिए ।

सुरक्षा अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारीहरू चौकीभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानमा यो घटना संगठित आतंकवादी हमला भएको आशंका गरिएको छ । स्थानीय प्रशासनले घटनापछि क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *