देश

नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

काठमाडौँ ।नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको यो बहुप्रतिक्षित आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भइसकेको छ ।

आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार बाँकी काम सम्पन्न गरेर सुरुङमार्ग सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भइरहेको छ । सञ्चालन व्यवस्थापन पाँच वर्षका लागि चिनियाँ कम्पनी ‘युसिन–एआरटी जेभी’लाई दिइएको छ ।

सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले गरेको स्थलगत अनुगमनका क्रममा निर्देशक नेपालले सांसदहरूलाई प्रगतिको जानकारी दिएका थिए । उक्त अवसरमा उनले निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गरे ।

प्रारम्भिक रूपमा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना ढिलिएको हो । सन् २०१९ सेप्टेम्बर २३ मा सुरु भएको परियोजनाको म्याद २०२६ अप्रिल २५ सम्म विस्तार गरिएको थियो ।

करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामध्ये १६ अर्ब रुपैयाँ निर्माण कार्यमा र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको छ । हालसम्म वित्तीय प्रगति ९६ प्रतिशत पुगेको बताइएको छ ।

सुरुङमार्ग अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ । सुरुङभित्र पावर सप्लाइ, स्मार्ट लाइटिङ, सिसिटिभी निगरानी, रिमोट मोनिटरिङ तथा कन्ट्रोल सिस्टम, सवारी चापअनुसार स्वचालित भेन्टिलेसन प्रणाली र आधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको छ ।

यसका साथै आपतकालीन अवस्थाका लागि ‘भेरिएबल म्यासेज साइन’, ट्राफिक सिग्नल तथा कन्ट्रोल रुमबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था पनि गरिएको आयोजनाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *