राजनीति

पद होइन, इतिहास बनाउने यात्रामा छौं : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले आफ्नो राजनीतिक अभियान व्यक्तिगत उपलब्धि वा पद प्राप्तिमा सीमित नभई देशको इतिहास निर्माणतर्फ केन्द्रित रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

उनका अनुसार राजनीतिक नेतृत्वको मूल्यांकन मन्त्री वा प्रधानमन्त्रीजस्ता पदमा पुगेर मात्र होइन, मुलुकलाई कस्तो दिशा दिइयो भन्ने आधारमा हुनुपर्ने हो । “पद ठूलो कुरा होइन, देशलाई कस्तो नेतृत्व दियौँ भन्ने महत्वपूर्ण कुरा हो,” उनले भने ।

लामिछानेले आफूहरू सत्ता प्राप्ति वा व्यक्तिगत ‘जीवनी’ लेख्ने उद्देश्यले राजनीतिमा नआएको दाबी गर्दै पार्टीको लक्ष्य ऐतिहासिक परिवर्तनको यात्रामा सहभागी हुनु रहेको स्पष्ट पारे । उनले सांसदहरूलाई निरन्तर सिकाइ र आत्मसुधारको प्रक्रियामा रहन आग्रह गर्दै राजनीतिक अभ्यासलाई जिम्मेवार र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले विश्व राजनीतिमा देखिएको परिवर्तनसँगै आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै समाजमा देखिने असन्तुष्टि नै राजनीतिक परिवर्तनको आधार हुने बताए । उनका अनुसार “विद्रोह समाजको निरन्तर प्रक्रिया हो” र त्यसैको आधारमा आफूहरूले नयाँ राजनीतिक अभ्यास सुरु गरेको हो । साथै, संसदीय प्रणालीलाई मर्यादित, प्रभावकारी र जनउत्तरदायी बनाउनुपर्ने आवश्यकता उनले दोहोर्‍याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *