देश

नेकपाले टुंग्यायो जनसंगठनको नेतृत्व, किसानदेखि प्रेससम्म जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना विभिन्न जनवर्गीय संगठनको नेतृत्व चयन गर्दै इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टी संयोजन समितिको हालै सम्पन्न बैठकले ३२ वटा जनवर्गीय संगठनका प्रमुख पदाधिकारीको जिम्मेवारी टुंगो लगाएको हो । पार्टी संयोजक पुष्पकमल दाहाल,(प्रचण्ड) र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी–३) मार्फत जिम्मेवारी सार्वजनिक गरिएको हो ।

निर्णयअनुसार अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेल चयन भएका छन् । अखिल नेपाल महिला संगठनको इन्चार्ज जयन्ती राई तथा सहइन्चार्ज कमला रोका तोकिएकी छन् ।

यस्तै, आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा, खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला तथा जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुनलाई जिम्मेवारी दिइएको छ ।

ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य, दलित संगठनको इन्चार्ज गणेश विक, पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल तथा पेशागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का तोकिएका छन् ।

युवा संगठनको इन्चार्ज लक्ष्मण केसी र विद्यार्थी संगठनको इन्चार्ज रत्न ढकाल चयन हुँदा शिक्षक संगठनको नेतृत्व माधव सापकोटाले पाएका छन् । प्रेस संगठनको इन्चार्जमा प्रकाश ज्वाला तथा सहइन्चार्जमा विष्णु सापकोटा र शम्भु श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, स्वास्थ्यकर्मी संगठनको इन्चार्ज अन्जना विशंखे, सहकारी संगठनको इन्चार्ज लिलामणि पौडेल, सुकुम्बासी महासंघको इन्चार्ज नहेन्द्र खड्का तथा मानव अधिकार संगठनको इन्चार्ज लेखनाथ दाहाल तोकिएका छन् ।

नेकपाले विभिन्न पेशा, समुदाय र वर्गसँग सम्बन्धित संगठनमार्फत पार्टी संरचना थप सक्रिय बनाउने उद्देश्यले जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *