गोरखा । पचास वर्ष अघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे ।
वि.सं २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र भ्रमणमा आए, उनी यमच्छो देखेर गदगद् भएका थिए । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् ।
राजा बिदा हुने बेला स्थानीयले हार्दिकताका साथ यमच्छोको नाम सोही दिनदेखि विरेन्द्रको नामबाट राखिदिएको र त्यो सुनेर उनी खुसी भएका थिए ।
यो इतिहासबारे चुमनुब्री गाउँपालिका–१ का पूर्व अध्यक्ष वीरबहादुर लामाले सुनाएका हुन् । सामागाउँभन्दा केही माथि मनास्लुको काखमा अवस्थित यही सुन्दर ताललाई त्यसपछि सबैले वीरेन्द्र ताल भन्न थालेको उनले बताए ।
त्यही बेलादेखि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्नुका मुख्य आकर्षणमध्य यो ताल पनि पर्ने गरेको स्थानीयको भनाइ छ ।
गत वर्ष २०८२ मा यहाँ करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेकामा दुई तिहाइभन्दा धेरैले सामागाउँ (नुब्री भ्याली) भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्याङ्कमा उल्लेख छ ।
यसरी बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक सामागाउँ भ्रमण गर्नुको मुख्य उद्देश्य वीरेन्द्र ताल सामागाउँ र मनास्लु हिमाल रहेको स्थानीय मिङ्मार छिरिङ लामाले बताए ।
पछिल्लो समय समुद्री सतहबाट करिब तीन हजार ६९१ मिटर उचाइमा अवस्थित वीरेन्द्र ताल मनास्लु पदयात्रामा आउनेहरूको रोजाइमा पर्न थालेको उनले सुनाए ।
सामागाउँबाट करिब आधा घण्टा पैदल हिँडेर वीरेन्द्र ताल पुग्न सकिन्छ । यसलाई स्थानीयले ‘यामच्छो’ भन्छन् । यामच्छो तिब्बती शब्द हो भने यसको अर्थ ‘माथिल्लो ताल’ हुने गरेको जानकारहरू बताउँछन् ।
वीरेन्द्र ताल चारैतिर कडा चट्टानले घेरिएको छ । माथिपट्टि सेता हिमाल फेटा बनेर टल्किएका छन् । यहाँ पुग्न गोरखा सदरमुकामबाट एक दिन मोटरमा र तीन दिन पैदल हिँड्नुपर्ने एमक्यापका भुवनराज ओझाले बताए ।
सदरमुकामबाट सिर्दिबाससम्म मोटरमा र सिर्दिबासबाट तीन दिन पैदल हिँडेर सामागाउँ पुग्न सकिने उनले जानकारी दिए ।
वीरेन्द्र ताल मुख्यगरी पुङ्गेन ग्ल्यासियर (हिमनदी)बाट पग्लिएर आउने पानी र हिउँबाट बनेको छ । पुङ्गेन शब्द तिब्बती भाषाको ‘फुन ग्यान’बाट बनेको हो, जसको अर्थ तीन चुचुराहरू हो ।
पुङ्गेनको अर्थ ‘रक्षक देवता’समेत रहेको स्थानीय मिङ्मार छिरिङको भनाइ छ । उहाँका अनुसार सन् १९५० अघि सामागाउँवासीले मनास्लु आरोहण गर्दा पुङ्गेन देवता रिसाउने डरले कसैलाई पनि आरोहण गर्न दिँदैनथे ।
त्यसैकारण जापानबाट मनास्लु आरोहण गर्न आएका टोलीलाई सामागाउँवासीले तीनपटकसम्म आरोहणमा रोक लगाएको उनले सुनाए ।
अचेल भने मनास्लु हिमाल आरोहणमा कुनै रोक छैन । हरेक वर्ष सयौँले हिमाल आरोहण गर्ने गरेका छन् । मनास्लु हिमाल आरोहणका लागि जाँदा वीरेन्द्र ताल हुँदै बेसक्याप जानुपर्ने हुन्छ ।
सो तालबाट मनास्लु बेसक्यापसम्म जान चार घण्टा पैदल हिँड्नुपर्ने स्थानीय बताउँछन् ।
वैज्ञानिक अध्ययनका अनुसार वीरेन्द्र तालको क्षेत्रफल निरन्तर बढिरहेको छ । सन् १९८८ मा शून्य दशमलव ०९ वर्ग किलोमिटर रहेको यस तालको आकार बढेर सन् २०२४ मा शून्य दशमलव २२ वर्ग किलोमिटर पुगेको छ ।
जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र रूपमा पग्लँदा यस तालको क्षेत्रफल बढेको अध्ययनले देखाएको छ । यसअघि, विसं २०८१ मा हिमपहिरोका कारण वीरेन्द्र तालको पानी बाहिर उछिट्टिएर पुललगायत केही भौतिक संरचना नष्ट भएका थिए ।




