सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीमाथि अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
मन्त्री यादवले उनलाई हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ उल्लेख गरिएको छ । प्रहरीको विज्ञप्तिमा भने ‘मुस्तकिम मिँया’ नाम उल्लेख भए पनि दुवै एकै व्यक्ति रहेको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार सप्तरी जिल्ला अदालत, राजविराजबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।
पीडित भएको दाबी गर्दै एक व्यक्तिले प्रहरीमा दिएको किटानी जाहेरीमा मिँयाले एकान्त स्थानमा बन्धक बनाई डरत्रास देखाउँदै कुटपिट गरेको, कपडा खोलेर नांगो बनाई भिडियो खिचेको आरोप लगाइएको छ ।
उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएपछि मुस्तकिम मिँयाको व्यापक आलोचना सुरु भएको थियो । घटनामा राजनीतिक संरक्षणका कारण उनलाई जोगाउन खोजिएको आरोप समेत प्रहरीमाथि लागेको थियो ।
प्रहरीका अनुसार खोजतलासका क्रममा राजविराज नगरपालिका–८ बाट उनलाई नियन्त्रणमा लिइएको हो ।
मिँयाले आफू ‘जेनजी आन्दोलन’को अगुवा भएको दाबी गर्दै जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।




