देश

अध्यादेश र सरकारका कदमविरुद्ध कांग्रेसको कडा चेतावनी, सदनमा प्रश्न गर्ने अडान

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशप्रति कडा आपत्ति जनाउँदै सदनभित्र दफा–दफामा प्रश्न उठाउने चेतावनी दिएको छ। संसद्को पहिलो बैठकमा कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै संसद् कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएको हो।

बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले दुईतिहाइ नजिकको शक्तिशाली सरकार भए पनि संसद्सँग डराएको जस्तो देखिएको टिप्पणी गरे। उनले अध्यादेशमार्फत संसद्को भूमिका कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। राईले अध्यादेशलाई सहजताको माध्यम बनाउनु गलत अभ्यास भएको भन्दै सरकारले संसद्लाई छल्ने प्रवृत्ति बढाएको आरोप लगाए। उनले सरकारले गरेका निर्णयहरूमाथि दफा–दफामा जवाफ मागिने र कुनै पनि विषयमा सरकारलाई जवाफदेही बनाउन कांग्रेस तयार रहेको बताए।

उनले सुकुम्बासी बस्ती हटाउने अभियानप्रति पनि आपत्ति जनाउँदै त्यसका सामाजिक र मानवीय पक्षलाई बेवास्ता गरिएको टिप्पणी गरे। उनले बालेन सरकारले सुकुम्वासीको बस्तीमा डोजर चलाउँदा खोटाङका ४३ वर्षीय राई र एक गर्भवती महिलाले आत्माहत्या गरेको भन्दै त्यसको मुद्धा सरकारलाई लाग्ने कि नलाग्ने भन्दै प्रश्न गरे ।

कांग्रेसले आगामी दिनमा संसद्भित्र सरकारका प्रत्येक निर्णयमाथि प्रश्न उठाउँदै कडा प्रतिपक्षी भूमिका खेल्ने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *