काठमाडौं । देशका विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गरिएको विरोधमा सुकुमबासी अधिकारसम्बद्ध संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आयोजनामा बिहीबार खबरदारी कार्यक्रम गरिएको हो । प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाविनै सुकुमबासी बस्ती हटाइएको भन्दै सरकार र स्थानीय प्रशासनप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले बल प्रयोगमार्फत बस्ती हटाउने कार्यलाई दमनकारी कदमको संज्ञा दिएका छन् ।
माइतीघरमा भेला भएका सहभागीहरूले “डोजर आतङ्क बन्द गर”, “सुकुमबासीलाई सुरक्षित बसोबास दे” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
सुकुमबासी अधिकारकर्मीहरूले संविधानले सुनिश्चित गरेको आवास र जीवनयापनको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सुकुमबासी परिवारलाई स्थायी बसोबासको सुनिश्चितता गर्न तथा जिउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले सुकुमबासी समस्याको दीर्घकालीन समाधान खोज्नुको साटो प्रशासनले बल प्रयोगको बाटो अपनाएको आरोप समेत लगाए ।




