काठमाडौं । रवि लामिछाने ले पार्टीभित्र “रवि समूह” र “बालेन समूह” भन्दै हुने चर्चा र गुटबन्दीपूर्ण व्याख्यालाई पूर्ण रूपमा अस्वीकार गर्न निर्देशन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र कुनै पनि प्रकारको कित्ताकाट वा व्यक्तिगत समूह निर्माण स्वीकार्य नहुने स्पष्ट पारे ।
लामिछानेले पछिल्ला दिनमा “रविको मान्छे” र “बालेनको मान्छे” भन्ने किसिमका टिप्पणीहरू बाहिर आएको उल्लेख गर्दै यस्ता हल्लाले पार्टी संगठन कमजोर बनाउने भन्दै सचेत गराए । उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सँग आफ्नो कुनै विवाद वा टकराव नरहेको स्पष्ट पार्दै राजनीतिक सहकार्य व्यक्तिगत होइन, दीर्घकालीन दृष्टिकोणमा आधारित रहेको बताए ।
लामिछानेका अनुसार देशमा दशकौँदेखि देखिँदै आएको विभाजन र असहमतिको संस्कृतिले विकासमा बाधा पुर्याएको छ, त्यसैले नयाँ राजनीतिक शक्तिहरूले एकताको अभ्यास गर्नुपर्ने आवश्यकता छ ।
उनले पार्टीभित्र व्यक्तिगत परिचय वा सम्बन्धका आधारमा राजनीति गर्ने अभ्यास स्वीकार्य नहुने भन्दै सबै सांसदलाई संस्थागत अनुशासनमा बस्न आग्रह गरे ।
मिडियाप्रति कटाक्ष गर्दै उनले अनावश्यक विवाद सिर्जना गरेर समाचार बनाउने प्रवृत्तिबाट टाढा रहन सुझाव दिए । उनका अनुसार राजनीतिक दलहरू अहिले परिपक्व अवस्थामा पुगेकाले फुटको कुनै सम्भावना नरहेको स्पष्ट छ ।




