काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले साढे दुई दशक पुरानो सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।
२०५८ सालमा गठन भएको उक्त सम्पत्ति छानबिन आयोग, जसलाई सामान्यतया “लम्साल आयोग” भनेर चिनिन्छ, को प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको विषयमा उनले प्रश्न उठाए। सांसद केसीले अवैध सम्पत्ति छानबिनका लागि थप प्रभावकारी र शक्तिशाली संरचना आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार विशेष आयोग गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। उनका अनुसार अवैध सम्पत्तिको गहिरो अनुसन्धानका लागि बंगलादेशजस्तै सशक्त छानबिन संयन्त्र आवश्यक छ।
साथै, उनले विदेशस्थित बैंक खातामा नेपालीको सम्पत्ति बढिरहेको दाबी गर्दै त्यसबारे राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।




