काठमाडौं । मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गरेसँगै सरकारले मन्त्रीहरूको कार्यविभाजन पुनः हेरफेर गरेको छ। नयाँ संरचनाअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले थप मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।
सरकारले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रधानमन्त्रीकै नेतृत्वमा सञ्चालन गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको ‘प्रविधि’ क्षेत्र अलग गरेर उक्त मन्त्रालय स्थापना गरिएको बताइएको छ।
यसअघि कायम रहेका मन्त्रालयमध्ये खारेज वा गाभिन नपरेकाहरूको जिम्मेवारी भने सम्बन्धित मन्त्रीहरूमै यथावत राखिएको छ।
प्रधानमन्त्री शाहसँग यसअघि नै रक्षा मन्त्रालयको जिम्मेवारी थियो। गृहमन्त्री सुधन को राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीकै मातहतमा आएको छ। अब विज्ञान–प्रविधि मन्त्रालय थपिएपछि प्रधानमन्त्रीले एकैसाथ तीन मन्त्रालय सम्हालिरहेका छन्।
यद्यपि, गृह मन्त्रालयको जिम्मेवारी लिएपछि प्रधानमन्त्री मन्त्रालयमा सक्रिय रूपमा उपस्थित नभएको चर्चा पनि भइरहेको छ।





