देश

एमाले–कांग्रेस शीर्ष नेताबीच प्रदेश सरकार हेरफेरबारे छलफल

काठमाडौं । प्रदेश सरकार हेरफेर तथा समसामयिक राजनीतिक विषयमा नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ ।

छलफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित निवासमा मंगलबार साँझ भएको हो । छलफलमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा सहभागी भएका थिए ।

दुई दलबीच यसअघि भएको समझदारीअनुसार प्रदेश सरकारहरूको नेतृत्व हेरफेर गर्ने विषयमा मुख्य रूपमा कुराकानी भएको स्रोतहरूले जनाएका छन् । छलफलमा संघीय गठबन्धन र सहकार्यलाई अझ व्यवस्थित बनाउने विषयमा पनि प्रारम्भिक संवाद भएको बताइएको छ ।

स्रोतका अनुसार पुरानो सहमतिअनुसार सुदूरपश्चिम र कोशी प्रदेश सरकारलाई निरन्तरता दिने, कर्णाली र लुम्बिनी प्रदेशमा कांग्रेसले नेतृत्व गर्ने तथा गण्डकी र बागमतीमा एमालेले नेतृत्व गर्ने विषयमा छलफल भएको छ । तर यसबारे अन्तिम निर्णय भने भएको छैन ।

दुवै पक्षले आन्तरिक छलफलपछि निष्कर्षमा पुग्ने सहमति गरेका छन् । प्रदेश सरकारहरूको नेतृत्व परिवर्तनको विषय आगामी दिनमा थप स्पष्ट हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *