काठमाडौं । रवि लामिछाने ले नेपालका पुराना राजनीतिक दलहरूको ऐतिहासिक संघर्षकै आधारमा वर्तमान राजनीतिक उपलब्धिहरू सम्भव भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र को खुलेर प्रशंसा गर्दै उनीहरूको लामो संघर्ष र त्यागकै जगमा आजको राजनीतिक प्रणाली उभिएको बताएका हुन् ।
पार्टीका निर्वाचित सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा ती दलहरूले व्यक्तिगत जीवन, परिवार र अवसरहरू त्यागेर दशकौँ लामो संघर्ष गरेको स्मरण गरे ।
लामिछानेका अनुसार त्यही संघर्षकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएको हो र अहिले नयाँ राजनीतिक शक्तिहरूले त्यही ऐतिहासिक जगमा टेकेर काम गर्न पाएका छन् ।
उनले वर्तमान राजनीतिक वातावरण तुलनात्मक रूपमा सहज भएको भन्दै चुनावी प्रक्रियाबाट नै राजनीतिक उचाइ हासिल गर्न सकिने अवस्था रहेको बताए । उनका अनुसार अघिल्लो पुस्ताले भोगेको कठिन संघर्षसँग तुलना गर्दा आजको राजनीतिक यात्रा धेरै सहज छ । लामिछानेले पार्टीका सांसदहरूलाई अभिव्यक्ति र व्यवहारका क्रममा जनभावनामा चोट पुग्न सक्ने विषयमा संवेदनशील रहन पनि आग्रह गरेका छन् ।
उनका अनुसार फरक विचार र सिद्धान्त भए पनि देशको राजनीतिक परिवर्तनको आधार पुराना दलहरूले तयार पारेको “जग” नै हो, जसमा नयाँ राजनीतिक अभ्यास अघि बढिरहेको छ ।




