महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा देखिएको कुपोषण समस्या समाधानका लागि नागरिकको बानी–व्यवहार परिवर्तन आवश्यक रहेको बताएका छन् ।
मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही, धनुषाले लालगढमा आयोजना गरेको तीनदिने ‘मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३’ उद्घाटन गर्दै उनले प्रत्येक घरको भान्साघर व्यवस्थित गर्न सके पोषण अवस्थामा सुधार आउने बताए ।
मुख्यमन्त्री यादवका अनुसार मधेस प्रदेश खाद्य उत्पादनका दृष्टिले सक्षम भए पनि त्यसको उचित उपयोग नहुँदा कुपोषणको समस्या गम्भीर बन्दै गएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री जङ्गीलाल रायले सम्मेलनले कुपोषणका कारण हुने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता समाधानमा ठोस निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । उनले अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना आवश्यक रहेको बताए ।
मधेस प्रदेशका स्वास्थ्य सचिव प्रमोदकुमार यादवले पोषण नीतिबारे विज्ञहरूबीच गहन छलफल गरी व्यवहारिक निष्कर्ष निकालिने जानकारी दिए ।
सम्मेलनमा प्रदेशका स्वास्थ्यसम्बद्ध निकायका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् तथा आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख र पोषण अधिकृतहरूको सहभागिता रहेको छ ।




