काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले यस्तो बताएकी हुन्र । संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत छिटो अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।
उनका अनुसार मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुनमा आवश्यक संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार पारिरहेको छ । उनले सरकारले कानुन निर्माण गर्दा विपद्लाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनका अनुसार मृत्यु घोषणाको सवालमा मृत्यु दर्ता गर्नुपर्ने अवस्था छ । मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा छलफल भइरहेको छ । समस्या समाधानका लागि कानुन मूल ऐनमै संशोधन गर्नुपर्ने उनले बताइन् ।
विपद् व्यवस्थापन बहुआयामिक र विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय भएकाले मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी–व्यवसायीलाई सहजीकरण तथा विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुन निर्माण गर्ने काम जारी रहेको उनको भनाइ छ ।




