देश

संवेदनशील सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुर्‍याउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्।

“गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,” उनले भनेका छन्।

पदका कारण संवेदनशील सूचनामा पहुँच प्राप्त भए पनि त्यसले सूचना दुरुपयोग गर्ने अधिकार नदिने उनले स्पष्ट पारेका छन्।

गृहमन्त्री गुरुङले गृह प्रशासन तथा सुरक्षा निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना वा सुराकले समेत अपराध नियन्त्रण, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको तथ्य स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उनले राज्यले सुम्पिएको गोपनीयता जानाजान उल्लङ्घन गर्ने जोसुकैले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्।

“राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” उनले भनेका छन्।

गृहमन्त्रीको यो भनाइ सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेको भोलिपल्ट आएको हो। दाहालमाथि लागेको आरोपबारे गृह मन्त्रालयले जाँचबुझ प्रक्रिया अघि बढाएको छ।

दाहालमाथिको आरोपबारे छानबिनको अन्तिम निष्कर्ष आउन बाँकी रहेकाले गृहमन्त्रीको भनाइलाई सो घटनाको निष्कर्षका रूपमा नभई संवेदनशील सूचना संरक्षण र पदीय जिम्मेवारीबारे सार्वजनिक गरिएको धारणाका रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *