देश

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन। बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई थान, एप्पल आइप्याड एक थान र भिभो एक थान गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताउनुभयो ।

त्यसैगरी, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिएको छ । उनको साथबाट बिलबिजकबिना बोकेको सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनाबाट बरामद मोबाइलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई यही असोज १८ गते पक्राउ गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *