कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा पार्वती बोहोरा, सुसान्त श्रेष्ठ, रिसमान थारू, विष्णु थारू, अरुण बुढाथोकी, सागर थारू, तिलकुमारी खत्री, सम्झना चुदारा, दीपेन्द्र गिरी, कृष्णबहादुर भण्डारी र गगन चुनारा रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
दुर्घटनामा संलग्न ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ निवासी २४ वर्षीय रूपेश धिमाल र टिप्पर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ निवासी ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




