दार्चुला । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ। पुल निर्माण भएको सात वर्ष पुग्दा पनि पुलसम्म पुग्ने बाटो नहुँदा स्थानीयले यसको उपयोग गर्न पाएका छैनन्।
विसं २०७५ वैशाख २ गते मालिकार्जुन गाउँपालिका र उपभोक्ता समितिबीच भएको सम्झौताअनुसार ओजिगाड खोलामा झोलुङ्गे पुल निर्माण गरिएको थियो। ७७ दशमलव ४० मिटर लम्बाइ र १ दशमलव ६ मिटर चौडाइ रहेको पुल निर्माणमा रु ३८ लाख ६५ हजार २०८ खर्च भएको थियो।
पुल निर्माणमा प्राविधिक सहयोग गरेको संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माण सम्पन्न भएको हो।
पुल निर्माण गर्दा खेततर्फको जग्गा परेको र त्यसबापत जग्गाधनीले मुआब्जासमेत लिएको स्थानीयको भनाइ छ। तर पुलको अर्को छेउमा निजी जग्गा परेपछि मूल बाटोसम्म पुग्ने बाटो निर्माण हुन नसक्दा पुल प्रयोगविहीन बनेको हो।
मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीका अनुसार अघिल्लो आर्थिक वर्षमा पुलसम्म पुग्ने घोरेटो बाटो निर्माणका लागि वडाबाट रु ५० हजार बजेट विनियोजन गरिएको थियो। तर जग्गाधनीले आफ्नो खेतबाट बाटो दिन नमानेपछि बाटो निर्माण हुन नसकेको उनले बताए।
पुल निर्माण भएर पनि प्रयोगमा नआएपछि स्थानीयले वडा कार्यालय र गाउँपालिकासँग पुल सञ्चालनका लागि पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दै आएका छन्। तर समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ।
पुल सञ्चालनमा नआउँदा हुनैनाथ माध्यमिक विद्यालय चन्दनपुर, मालिकार्जुन गाउँपालिका–४ को वडा कार्यालय तथा स्वास्थ्यचौकीमा आवतजावत गर्ने स्थानीय तथा सेवाग्राहीले विशेषगरी वर्षायाममा समस्या झेल्दै आएका छन्।




