देश

सभापति थापाको निर्देशनमा ‘भरिया’मार्फत निवर्तमान सभापति देउवालाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निमन्त्रणापत्र बोकेर आफू जानुको सट्टा पार्टीभित्रकै नेताहरुलाई भरिया बनाएर पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन्।

शनिबार थापाको निर्देशनमा निमन्त्रणापत्र बोकेर सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका थिए। अन्य पार्टीका नेताहरुलाई करिब एक हप्ताअघि महाधिवेशनमा उपरिस्थति हुन निमन्त्रणमा पठाएका थापाले देउवालाई आफू निमन्त्रण पत्र बोकेर जानुको सट्टा महाधिवेशनको एक दिन अघि मात्र पत्र पठाएपछि कांग्रेसभित्र विभिन्न कोणबाट टिक्का टिप्पणी हुन थालेको छ ।

साँझ करिब ६ बजे निमन्त्रणा पत्र बोकेर त्यहाँ पुगेका निमन्त्रणा बाँड्ने टोलीले सुरक्षाकर्मीलाई औपचारिक भनिएको निमन्त्रणा पत्र छोडेर आएको स्रोतले जनाएको छ । चौधरीद्वयले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमार्फत निमन्त्रणापत्र बुझाएका थिए। सभापति थापाको तर्फबाट देउवालाई महाधिवेशन उद्घाटन सत्रको प्रमुख आतिथ्य ग्रहण गर्न आग्रह गरिएको पत्रमा उल्लेख गरिएको पार्टी स्रोतको भनाइ छ ।

कांग्रेस नेतृत्वले महाधिवेशनको उद्घाटनसमेत देउवाबाटै गराउने तयारी गरेको छ। यद्यपि, देउवा कार्यक्रममा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन। कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। यसैबीच देउवा पक्षले भने छुट्टै महाधिवेशनका कार्यक्रम अघि बढाइरहेको छ। यस्तो अवस्थामा सभापति थापाले निवर्तमान सभापति देउवालाई औपचारिक निम्तो पठाए पनि उनी महाधिवेशनमा सहभागी हुने-नहुने विषय भने अझै अनिश्चित बनेको छ। देउवा महाधिवेशनमा उपस्थित नभएमा सभापति थापाले नै महाधिवेशनको उद्घाटन गर्नेछन् ।

गत वर्ष विशेष महाधिवेशन गरेर कांग्रेसलाई दुई ट्क्रामा परिणत गरेका थापाको पछिल्लो समय संस्थापनइतर समुहमाथि दबाबको राजनीति र अपमानजनक गतिविधि अघि बढाएपछि इतर समहुले पनि महाधिवेशनको मिति छुट्टै तय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *