देश

कांग्रेस महामन्त्रीमा नैनसिंह महर र सहमहामन्त्रीमा मनोजमणि आचार्यले दिए उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । महरले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् ।

महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए । उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन् ।

महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

यस्तै, कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन् । खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

तर उनले कुनै पनि पद लिएनन् । अर्थात् उनी पद ओगट्न भन्दा पनि पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनुपर्छ भनेर कुनै पनि पद नलिई विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेका थिए ।

आचार्यले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समेत उम्मेदवारी नदिई पार्टीलाई संगठित गर्न लागिपरेका थिए । आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग सँगसँगै काम गरेका नेता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *