देश

ह्वीलचेयर सेवा : अन्तर्राष्ट्रिय हवाईयात्रामा यात्रुको सहज सहारा

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वीलचेयर सेवा उपलब्ध हुन थालेपछि ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका यात्रुलाई अन्तर्राष्ट्रिय हवाईयात्रा सहज भएको छ ।

विशेषगरी पहिलोपटक अन्तर्राष्ट्रिय यात्रामा निस्कने तथा अङ्ग्रेजी भाषा नबुझ्ने यात्रुका लागि ह्वीलचेयर सेवाले विमानस्थलका विभिन्न प्रक्रिया पूरा गर्न आवश्यक सहजीकरण प्रदान गर्दै आएको छ । सेवा शुल्कबापत केही अतिरिक्त रकम तिर्नुपर्ने भए पनि एक्लै विदेश यात्रा गर्ने ज्येष्ठ नागरिक तथा विशेष सहायता आवश्यक पर्ने यात्रुका लागि यो सेवा उपयोगी बनेको छ ।

विमानस्थल प्रवेश गरेदेखि तोकिएको कक्षमा पुग्न, चेक–इन तथा सुरक्षा जाँच पूरा गर्न, बोर्डिङ गेटसम्म पुग्न, ट्रान्जिटका क्रममा आवश्यक स्थानमा जान, अर्को विमानसम्म पुग्न तथा टिकटअनुसारको सिटमा बस्न ह्वीलचेयर सेवाले सहज बनाउने गरेको छ । गन्तव्यमा रहेका आफन्त वा सम्पर्क व्यक्तिसँग भेट्नसमेत यसले यात्रुलाई सहयोग पुर्‍याउने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ह्वीलचेयर सेवा प्रयोग गर्दै यात्रा गर्ने यात्रुहरूले पहिलोपटक हवाईयात्रा गर्दा मनमा विभिन्न आशङ्का भए पनि विमानस्थलका कर्मचारी तथा सहयोगीको सहजीकरणले यात्रा सहज हुने बताएका छन् ।

यसै क्रममा आज मलेसिया जान लागेका ७८ वर्षीय भक्तमान श्रेष्ठले ह्वीलचेयर सेवा पाएपछि विमानस्थलभित्रका विभिन्न प्रक्रिया पूरा गर्न सहज भएको बताए ।

उनका अनुसार चेक–इन, सुरक्षा जाँच तथा बोर्डिङ गेटसम्म पुग्न लामो दूरी हिँड्नुपर्ने भएकाले ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकोमा ह्वीलचेयर सेवाले राहत दिएको छ ।

“ह्वीलचेयर सेवा पाएपछि विमानस्थलमा यात्रा गर्दा हुने शारीरिक कठिनाइ कम भएको छ । विमानस्थलभित्र विभिन्न प्रक्रिया पूरा गर्न एक स्थानबाट अर्को स्थानमा जानुपर्ने भएकाले यो सुविधाले हामीलाई निकै राहत मिलेको छ,” उनले भने ।

त्यस्तै, सरस्वती लोहनीले अष्ट्रेलियामा रहेका छोरा र बुहारीले टिकट पठाइदिएपछि मलेसिया हुँदै अष्ट्रेलिया जान लागेको बताइन् । पहिलोपटक विदेश यात्रा गर्न लागेकी उनले यसअघि विदेश गएका साथीहरूको सल्लाहमा ह्वीलचेयर सेवा प्रयोग गरेको बताइन् ।

“विदेशी भाषा जान्दिनँ, एक्लै छु, जहाजको यात्रा पहिलो हो । तर पनि मनमा डर छैन । मजस्ता अरू पनि यसरी नै विदेश गएर फर्किएका छन् । छोरा, बुहारी नियमित सम्पर्कमै हुनुहुन्छ । ढुक्क भएर उड्दैछु, बाँकी भगवान्को कृपा,” उनले भनिन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थलमा इन्टर्नसिप गर्दै आएकी रिया राजथलाका अनुसार ह्वीलचेयर सेवाले ज्येष्ठ नागरिकलाई आफन्त वा अन्य व्यक्तिको सहारामा मात्र हिँड्नुपर्ने बाध्यता कम गरेको छ ।

“ज्येष्ठ नागरिकले लामो दूरी हिँड्नुपर्ने तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थामा ह्वीलचेयरको सुविधा निकै उपयोगी हुने गरेको छ । यसबाट ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका यात्रु खुसी हुनुहुन्छ,” उनले भनिन् ।

विमानस्थल कार्यालयका अनुसार ज्येष्ठ नागरिकका अतिरिक्त गर्भवती, घाइते तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका यात्रुले आवश्यकताअनुसार ह्वीलचेयर सेवा लिन सक्ने व्यवस्था छ । यात्रुको सहजता र पहुँचलाई ध्यानमा राख्दै विमानस्थलमा उपलब्ध सहायता सेवाहरूलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

चाडपर्व नजिकिँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको आवागमन बढिरहेको छ । स्वदेश तथा विदेश जाने यात्रुको चाप बढ्दै गएको अवस्थामा ज्येष्ठ नागरिक तथा विशेष सहायता आवश्यक पर्ने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने अर्की यात्रु दीलकुमारी डङ्गोलले बताइन् ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थलमा इन्टर्नसिप गर्दै आएकी सालु श्रेष्ठले ह्वीलचेयरलगायतका आधारभूत सहायता सेवा सहज, व्यवस्थित र प्रभावकारी हुँदा यात्रुलाई ठूलो राहत पुग्ने बताइन् । विमानस्थलमा नागरिक सहायता कक्षदेखि ह्वीलचेयरसम्मको व्यवस्था भएकाले जहाजको सिटसम्म पुग्न लामो दूरी हिँड्नुपर्ने तथा लाइनमा बस्नुपर्ने झन्झट कम भएको उनको भनाइ छ ।

विमानस्थलका अनुसार पछिल्ला दिनमा अध्ययन तथा रोजगारीका लागि युवापुस्ता विदेश जाने क्रम बढेसँगै आफ्ना बाबुआमा तथा अभिभावकलाई विदेश घुमाउन लैजाने क्रमसमेत बढेको छ । यससँगै ज्येष्ठ नागरिक तथा विशेष सहायता आवश्यक पर्ने यात्रुले ह्वीलचेयर सेवा प्रयोग गर्ने क्रम पनि बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *