महोत्तरी। देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ, बीउ र मलखादको भरपर्दो व्यवस्था नहुँदा महोत्तरीका किसान अन्योलमा पर्न थालेका छन् ।
परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गर्ने मुख्य अन्नबाली धान बीउ राख्नेदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा किसान निराश बन्न थालेका हुन् । सिँचाइको अभाव, खेतीको समयमा बीउ तथा मल नपाइनु र बर्सेनि देखिने प्रतिकूल मौसमका कारण धानखेतीबाट जीवन धान्न कठिन हुँदै गएको किसानको भनाइ छ ।
भङ्गाहा–४ पलारका किसान रामनारायण थारु धानखेतीका लागि सिँचाइ मुख्य विषय भए पनि आकाशे पानीकै भर पर्नुपरेको बताउनुहुन्छ । “धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो, आकाशे पानीकै भरमा खेती गर्नुपरेको छ । बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ,” उहाँ भन्नुहुन्छ, “खेतीका बेला बीउ र मल पनि पाइँदैन । अब धानखेतीले धान्न सकिएला जस्तो छैन ।”
पुस्तौँदेखि बाबुबाजेले गर्दै आएको खेती अब धान्न सकिन्छ भन्ने आशा मर्दै गएको ७० वर्षीय थारुको भनाइ छ ।
थारुका छिमेकी ८० वर्षीय चौठी बाँतर पनि केही वर्षयता धानखेतीबाट दिक्क हुनुभएको छ । विगतमा बीउ राख्ने, रोप्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको उहाँ सम्झनुहुन्छ ।
“पहिले खेतीका लागि जनशक्ति पनि पाइन्थ्यो, पानीका मूल जताततै थिए । किसानले बीउ आफैँ साँचेर राख्थे । रोगब्याधिको पनि अहिलेको जस्तो प्रकोप थिएन,” पुराना दिन सम्झँदै बाँतर भन्नुहुन्छ, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यो कस्तो समय आयो भन्ने लाग्छ ।”
धानलाई बीउ राख्नेदेखि रोपाइँसम्म प्रशस्त पानी आवश्यक पर्छ । रोपिसकेपछि पनि निश्चित अन्तरालमा सिँचाइ आवश्यक हुने भए पनि जिल्लामा कुलो तथा नहरको पहुँच निकै कम छ । यसले धानखेती प्रभावित हुँदै आएको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा ७१ हजार हेक्टर जग्गा खेतीयोग्य छ । त्यसमध्ये करिब १० प्रतिशतमा मात्र कुलो तथा नहरको सुविधा पुगेको छ । भूमिगत जलस्रोतसमेत प्रयोग गर्दा करिब ३० प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको कार्यालयको तथ्याङ्क छ ।
सिँचाइ सुविधा पुगेका भनिएका क्षेत्रमा पनि पानीका मुहान सुक्दै गएका छन् । धानलाई धेरै पानी आवश्यक पर्ने भएकाले आकाशे पानीकै भरमा अपेक्षित रोपाइँ र उत्पादन लिन नसकिएको बलवा–११ का उत्तिम माझी बताउनुहुन्छ ।
“सिँचाइ मुख्य पक्ष भयो नै, भरपर्दो बीउ र मल पनि समयमा नपाएर भौतारिनुपरेको छ,” उहाँ भन्नुहुन्छ, “धान रोपाइँका बेला जनशक्ति पनि पाइँदैन । अब यो खेती धान्न गाह्रो छ ।”
अनुकूल वर्षा हुँदा विगतमा महोत्तरीमा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती हुने गरेको पुराना कृषि अधिकारी बताउँछन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा कृषि अधिकृत रहनुभएका रामबहादुर भुजेलले विसं २०५४/५५ अघिका वर्ष सम्झँदै त्यतिबेला ४५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको बताउनुहुन्छ ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार विसं २०८१ मा ४२ हजार ५०० हेक्टरमा धानबाली लगाइएको थियो । त्यसअघि विसं २०८० मा ४० हजार ३२१ हेक्टरमा धानखेती भएको थियो ।
विसं २०८२ मा भने लामो खडेरीका कारण ३० हजार ९८६ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । त्यसमध्ये पनि असोज दोस्रो साताको वर्षा र बाढीले धानबालीमा ठूलो क्षति पुर्याउँदा उत्पादन ८० हजार १७७ मेट्रिक टनमा सीमित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिनुभयो ।
यस वर्ष भने गत वर्षको तुलनामा धानखेतीको क्षेत्रफल बढेको छ । पर्याप्त पानी नपरे पनि किसानले सिँचाइका लागि थप मेहनत गरेर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ गरेको महतोले बताउनुभयो । धान काट्ने र दाइँ गर्ने समयसम्म मौसम अनुकूल रहे यस वर्ष उत्पादन एक लाख मेट्रिक टनभन्दा बढी पुग्ने कार्यालयको अनुमान छ ।
महोत्तरीमा बर्सेनि धान रोपाइँको क्षेत्रफल र उत्पादनमा देखिने उतारचढाव मुख्यतः वर्षाको अनुकूलता र प्रतिकूलताका कारण हुने गरेको पाका किसान बताउँछन् ।
भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारु पछिल्लो एक दशकमा आफूले सोचेजति धान रोप्न नपाएको बताउनुहुन्छ ।
“पछिल्ला १० वर्षयता कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन । यस्तो हुनुमा पानी, बीउ र मलको अभाव नै मुख्य कारण हो,” उहाँ भन्नुहुन्छ, “हाम्रा बस्तीपिच्छे नदी, खोलाखोल्सी र जलाधार क्षेत्र छन् । तर तिनलाई व्यवस्थित गरेर किसानको खेतसम्म पानी पुर्याउने प्रबन्ध हुन सकेको छैन । यसले किसानको जाँगर मर्दै गएको छ ।”
सिँचाइका लागि वरदान हुनुपर्ने नदी तथा खोलाको उचित व्यवस्थापन हुन नसक्दा बर्सेनि बाढीले घर, खेत र बालीनालीमा क्षति पुर्याउने गरेको उहाँको भनाइ छ ।
किसानलाई खेतीमा उत्साहित गर्न तीनै तहका सरकारले सिँचाइ, गुणस्तरीय बीउ तथा मल र सुलभ कृषि ऋणको व्यवस्था गर्नुपर्ने किसान बताउँछन् । उत्पादनमा उचित अनुदानको व्यवस्था गर्न सके कृषि क्षेत्रलाई पुनः चलायमान बनाउन सकिने उनीहरूको भनाइ छ ।
धानलगायत परम्परागत खेतीबालीको लागत निरन्तर बढ्दै जाँदा त्यसलाई धान्ने सामर्थ्य किसानले गुमाउँदै गएको भङ्गाहा–६ सग्रामपुरका कृषि विज्ञ एवं सरकारी सेवाबाट निवृत्त जासर यादव बताउनुहुन्छ ।




