काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या झन्डै एक लाखले बढेको छ। पार्टीका अनुसार हाल कांग्रेसमा ९ लाख ६९ हजार ८४२ जना क्रियाशील सदस्य पुगेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलनमार्फत पार्टीको पछिल्लो क्रियाशील सदस्यताको विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार १४औँ महाधिवेशनका बेला कांग्रेसको क्रियाशील सदस्य संख्या करिब ८ लाख ७० हजार थियो। त्यसयता सदस्य संख्या बढेर अहिले ९ लाख ६९ हजार ८४२ पुगेको हो।
पार्टीले पछिल्लो समय युवा पुस्तालाई संगठनमा आकर्षित गर्ने रणनीति लिएसँगै क्रियाशील सदस्यता बढेको जनाएको छ।
विशेषगरी जेनजी उमेर समूहका युवालाई कांग्रेसको सदस्य बनाउने र उनीहरूलाई पार्टीको केन्द्रीय तहसम्म सहभागी गराउने योजना अघि सारेपछि नयाँ सदस्य थपिएको प्रवक्ता चालिसेको भनाइ छ।
कांग्रेसले युवा पुस्तालाई संगठनमा आबद्ध गराउँदै नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यले सदस्यता विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
पार्टीको नयाँ सदस्यता विस्तार अभियानले आगामी दिनमा कांग्रेसको संगठनात्मक संरचना र नेतृत्वमा युवा सहभागिता बढाउने अपेक्षा गरिएको छ।




