काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै राठौरले आफू नेतृत्वमा पुगे कांग्रेसलाई विभाजनबाट जोगाउँदै संगठनलाई पुनः एकताबद्ध बनाउने दाबी गरे।
उनले कांग्रेसको बृहत्तर एकताका लागि पार्टीका पुराना नेताका परिवारलाई पनि समेट्नुपर्ने धारणा राखे। बीपी कोइराला, गणेशमान सिंह, नोना कोइराला र महेन्द्रनारायण निधिका छोराहरू पार्टीमा अटाउनुपर्ने उनको भनाइ थियो।
“बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन,” राठौरले भने। उनीहरूलाई बाहिर राखेर गरिने महाधिवेशनको प्रभाव आगामी स्थानीय तहको निर्वाचनमा देखिन सक्ने उनको दाबी थियो।
राठौरले आफू सभापति निर्वाचित भए पार्टीभित्र फरक–फरक धार र अधिवेशन भए पनि संगठनलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता जनाए। मेचीदेखि महाकालीसम्मका नेता तथा कार्यकर्तालाई एउटै संगठनात्मक सूत्रमा जोड्दै कांग्रेसलाई त्याग, संघर्ष र बलिदानको राजनीतिक संस्कारतर्फ फर्काउनु पर्ने उनले धारणा राखे ।
उनले नेतृत्व चयनमा कार्यकर्ताको स्वतन्त्र भूमिकामा जोड दिए। कार्यकर्ता कुनै पनि नेताको दबाबमा नभई आफ्नो विवेकका आधारमा नेतृत्व छनोट गर्नुपर्ने राठौरको भनाइ छ। राठौरले सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेकै कारण आफ्नो क्षेत्रमा पार्टी अधिवेशन लम्ब्याइएको आरोपसमेत लगाए। आफ्नो क्षेत्रमा कुनै विवाद नरहेको दाबी गर्दै उनले आफूलाई महाधिवेशन प्रतिनिधि बन्नसमेत ढिलाइ गरिएको बताए। उनका अनुसार आफू विद्यार्थी संघको नेतृत्वमा रहँदा पनि प्रतिस्पर्धाबाट रोक्ने प्रयास भएको थियो। अहिले पनि विशेष महाधिवेशन पक्षले स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन नचाहेको उनको आरोप छ।
राठौरले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको पनि स्पष्ट पारे। त्यसअघि नै गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै पार्टीभित्रको विवाद नबढाउन आफूले प्रस्ताव गरेको उनले बताए। विशेष महाधिवेशन सम्पन्न भइसकेकाले त्यसबाट आएको परिणामको मूल्यांकन भविष्यमा हुने उनको भनाइ थियो। राठौरले कांग्रेसभित्र पछिल्लो समय त्याग, तपस्या र संघर्षभन्दा पद, प्रतिष्ठा र आर्थिक स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति बढेको आरोप लगाए। तत्कालीन पार्टी नेतृत्वसँग मतभेद राखेकै कारण आफूलाई संस्थापन पक्षमा स्थापित हुन लामो समय लागेको उनको भनाइ थियो। उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वलाई मात्र दोष दिएर समस्या समाधान नहुने बताए। समाज, कार्यकर्ता र नेतृत्व सबै तहमा सुधार आवश्यक रहेको उनको तर्क थियो।
“जनता ठिक नभई कार्यकर्ता ठिक हुँदैनन् । कार्यकर्ता ठिक नभई नेता ठिक हुँदैनन् । नेता ठिक नभए पार्टी ठिक हुँदैन,” राठौरले भने।
पार्टीहरूमा सुधार नआएसम्म देश निर्माणको प्रक्रिया पनि प्रभावकारी हुन नसक्ने उनले बताए। राठौरले पछिल्लो राजनीतिक परिवर्तनपछि बनेको नयाँ राजनीतिक शक्तिप्रति पनि आफ्नो धारणा राखे। कांग्रेसलाई जनताले अस्वीकार गरेकोमा आफू दुःखी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले रोजेको विषयमा भने आफू दुःखी नरहेको उनले बताए।
उनले लामो राजनीतिक संघर्ष र नेतृत्व अनुभव भएका शेरबहादुर देउवा तथा केपी शर्मा ओलीको नेतृत्वमा समेत भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा अपेक्षित परिणाम नआएको टिप्पणी गरे। अब नयाँ राजनीतिक नेतृत्वले भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा परिणाम देखाउन सके आफूले त्यसको स्वागत गर्ने राठौरले बताए। आगामी पाँच वर्षमा मुलुक र समाजलाई कस्तो दिशामा लैजाने भन्ने विषय कामबाटै देखिनुपर्ने उनको भनाइ थियो।




