काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले सरकार सञ्चालनमा पार्टीको कुनै हस्तक्षेप नरहेको बताएका छन्। राज्यका निकायलाई दलीय प्रभावबाट मुक्त राख्ने उद्देश्यले सरकारले आफ्नो काम स्वतन्त्र रूपमा गरिरहेको उनको दाबी छ।
सोमबार दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा आचार्यले पार्टीले सरकारलाई आवश्यक राजनीतिक वातावरण उपलब्ध गराए पनि दैनिक प्रशासनिक तथा कार्यकारी काममा हस्तक्षेप नगरेको बताए। उनका अनुसार राज्यका संरचनालाई दलको प्रभावमा पार्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाइनुपर्छ। रास्वपाले पनि यही मान्यतालाई आत्मसात् गरेको उनले बताए।
महामन्त्री आचार्यले संसद्को भूमिकालाई समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। संसद् केवल कानुन पारित गर्ने थलो नभई कानुन निर्माणको प्रमुख केन्द्र बन्नुपर्ने उनको भनाइ छ। हाल मन्त्रालयबाट कानुनको मस्यौदा तयार पारेर संसद्मा पठाउने अभ्यास रहेको उल्लेख गर्दै उनले कानुन निर्माणको मूल जिम्मेवारी संसद्ले नै लिनुपर्ने धारणा राखे। संसद्लाई प्रभावकारी र अधिकारसम्पन्न बनाएर कानुन निर्माण प्रक्रियालाई थप संस्थागत गर्नुपर्ने उनले बताए।
यसैबीच, आचार्यले दाङको समग्र विकासका लागि आफू सकारात्मक र प्रतिबद्ध रहेको बताएका छन्। दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जिल्लाको पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
उनले विशेषगरी टरिगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राख्ने बताए।
दाङका नागरिकलाई आवश्यक सेवा तथा सुविधामा सहज पहुँच पुर्याउने उद्देश्यले आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता पनि आचार्यले व्यक्त गरे।




