काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १४औँ महाधिवेशनको दृश्य पूर्णतः दोहोरिएको छैन। अघिल्लो महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका पाँचै जना नेता यसपटकको महाधिवेशन प्रक्रियाबाट बाहिर छन्। तर, उनीहरूमध्ये केही नेताहरू अहिले निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका छन्। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले १४औँ महाधिवेशनबाट निर्वाचित केही नेताहरू १५औँ महाधिवेशनमा सहभागी भएका छैनन्। यही पृष्ठभूमिमा कांग्रेसभित्र पुरानो संस्थापन समूहको शक्ति संरचना पनि फेरबदल भएको देखिन्छ।
१४औँ महाधिवेशनमा देउवासहित डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापति पदका उम्मेदवार थिए। पहिलो चरणमा कसैले पनि आवश्यक बहुमत प्राप्त नगरेपछि दोस्रो चरणमा देउवा र डा. शेखरबीच प्रतिस्पर्धा भएको थियो। त्यसबाट देउवा सभापतिमा निर्वाचित भएका थिए। तर पाँच वर्ष नपुग्दै कांग्रेसको संगठनात्मक संरचना फेरिएको छ। देउवा नेतृत्वको कार्यसमितिमा रहेका ठूलो संख्याका नेता अहिले गगन थापा नेतृत्वको कार्यसमितिमा समेत समेटिएका छन्।
हाल देउवा पक्षमा देउवासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायतका नेता देखिएका छन्। देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीका लागि डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको छ। त्यस्तै देउवा पक्षमा उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा, निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, गुरू बराल, दीपक खड्का, कुन्दन काफ्ले, जितजंग बस्नेत र कृष्ण केसीलगायतका नेता रहेको विवरण छ। निवर्तमान केन्द्रीय सदस्यहरूमध्ये शिव हुमागाईं, सीता देवकोटा, विद्या तिमलसिना, सुजता परियार, किरण शर्मा पौडेल, लक्ष्मी खतिवडा, डा। रणबहादुर रावल, रंगमती शाही, नृप वड र पद्मनारायण चौधरीलगायतका नेता पनि देउवा समूहमा रहेको बताइएको छ।
१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यमध्ये ठूलो संख्या भने अहिले थापा नेतृत्वको संरचनामा समेटिएको छ। १४औँ महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका थिए। तीमध्ये धनराज गुरुङ १५औँ महाधिवेशनमा सहभागी छन् भने खड्का सहभागी छैनन्। महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा दुवै अहिलेको महाधिवेशन प्रक्रियामा सहभागी छन्। उनीहरूकै नेतृत्वमा भएको विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति बनेका थिए।
विशेष महाधिवेशनबाट प्रदीप पौडेल महामन्त्री बने भने १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी पुष्पा भुसाल उपसभापति बनेकी छन्। फरमुल्लाह मन्सुर भने विशेष महाधिवेशनपछि पनि सहमहामन्त्रीकै भूमिकामा छन्। त्यस्तै थापा नेतृत्वको कार्यसमितिमा निर्विरोध निर्वाचित भएका अधिकांश सहमहामन्त्री यसअघि देउवा नेतृत्वको कार्यसमितिमा केन्द्रीय सदस्य थिए।
थापा नेतृत्वको कार्यसमितिमा देउवा नेतृत्वको अघिल्लो समितिका २० जना केन्द्रीय सदस्यसमेत समेटिएका छन्। त्यसमा अर्जुननरसिंह केसी, राजेन्द्र केसी, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, विनोद चौधरी, मोहन आचार्य, अजयबाबु सिवाकोटी, जानकी सिंह, नानु बास्तोला, धना खतिवडा, प्रतिमा गौतम, तारामान गुरुङ, अब्दुल सत्तार, अब्दुल रज्जाक र गोपाल दहितलगायत छन्। गोपालमान श्रेष्ठको भने निधन भइसकेको छ।
त्यसपछि थापाले देउवा नेतृत्वको कार्यसमितिमा रहेका थप नेताहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेका थिए। यसमा जीवन परियार र महेन्द्र यादवसहित उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा। चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, डा। गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा. जीवन राना र सीता थपलिया छन्। १४औँ महाधिवेशनपछि देउवाले कोषाध्यक्ष बनाएका उमेश श्रेष्ठलाई थापा नेतृत्वले पनि सोही जिम्मेवारीमा निरन्तरता दिएको छ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णयपछि कांग्रेसभित्रको शक्ति समीकरण थप परिवर्तन भएको देखिन्छ। महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौरलगायतका नेतासहित बालकृष्ण खाण, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, नैनसिंह महर, रामहरि खतिवडा, सीता गुरुङ र किरण यादवजस्ता नेता थापा नेतृत्वतर्फ खुलेका छन्। यसले देउवा नेतृत्वमा रहेको पुरानो संस्थापन समूहबाट ठूलो संख्यामा नेता अर्को समूहमा पुगेको देखाएको छ।
कांग्रेसभित्र सबै नेता देउवा वा थापा पक्षमा मात्र विभाजित भने छैनन्। डा. शेखर कोइरालाको नेतृत्वमा केही नेता दुवै समूहबाट अलग रहेर तटस्थ रहने प्रयासमा छन्। यो समूहमा डा. शेखरसहित बलबहादुर केसी, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, सञ्जय गौतम र सरिता प्रसाईलगायतका नेता रहेको बताइएको छ। यसरी कांग्रेसको १५औँ महाधिवेशनमा मुख्य रूपमा देउवा र थापा नेतृत्वका दुई धार देखिए पनि तेस्रो धारका रूपमा शेखर कोइराला समूह पनि आफ्नो राजनीतिक स्थान खोजिरहेको छ।
१४औँ महाधिवेशनमा निर्वाचित सभापति देउवा स्वयं भने १५औँ महाधिवेशनमा सहभागी छैनन्। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। यस अर्थमा १५औँ महाधिवेशनमा देउवा स्वयं उपस्थित नभए पनि उनको राजनीतिक समूह भने कांग्रेसको संगठनभित्र आफ्नो प्रभाव कायम राख्ने प्रयासमा छ।
अबको मुख्य प्रश्न भनेको देउवा पक्षमा रहेका नेताहरूले समानान्तर महाधिवेशनमार्फत कस्तो संगठनात्मक संरचना बनाउँछन् र थापा नेतृत्वको कांग्रेससँगको सम्बन्ध आगामी दिनमा कसरी अघि बढ्छ भन्ने हो। कांग्रेसको वर्तमान शक्ति समीकरणले १४औँ महाधिवेशनपछिको पुरानो संस्थापन संरचनामा उल्लेख्य फेरबदल भएको देखाएको छ।




