देश

कांग्रेस महामन्त्रीमा डा. सुनिलकुमार शर्माको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शर्माले प्रेस विज्ञप्तिमार्फत नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुँदै पार्टी र राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।

उनले कांग्रेसको महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रियामात्र नभई राष्ट्र निर्माणका लागि नयाँ संकल्प गर्ने अवसरसमेत भएको उल्लेख गरेका छन्। बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गर्दा नेपाली जनता र देशले राखेको विश्वास, भरोसा र आशालाई कायम राख्दै पार्टीलाई गौरव गर्नलायक बनाउने संकल्प महाधिवेशनबाट गर्नुपर्ने उनको भनाइ छ।

शर्माले विगतका कमजोरीबाट पाठ सिक्दै सुन्दर भविष्यका लागि अघि बढ्नुपर्ने बताउँदै नवयुवा र अनुभवी पुस्तालाई सँगै लिएर कांग्रेसलाई राष्ट्र निर्माणको अभियानमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको साझा संकल्प पार्टी र राष्ट्र निर्माण हुनुपर्ने उनको भनाइ छ।

महामन्त्रीमा निर्वाचित भए पार्टी संगठन सुदृढ गर्दै पार्टीमार्फत राष्ट्र निर्माणमा योगदान गर्ने शर्माले बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकबाट सहयोग र समर्थन प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्।

शर्मा नेपाली कांग्रेसका पूर्वप्रतिनिधिसभा सदस्य तथा पूर्वमहासमिति सदस्य हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *