काठमाडौं । दशैं, तिहार तथा छठ पर्व केन्द्रित सार्वजनिक यातायातको अग्रिम टिकट असोज २३ गतेदेखि खुल्ला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
विभागले चाडपर्वमा आफ्ना – आफन्तहरुलाई भेट्न र पारिवारसँग चाडपर्व मनाउन जाने यात्रुहरुको सहजताका लागि यस्तो व्यवस्था गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का प्रतिनिधिबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले बताएका छन् ।
नेपालीहरुको महान चाड मनाउनका लागि करिब १० लाखभन्दा बढी यात्रुहरुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । यस्तै बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई ध्यान दिदैँ लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने समेत निर्णय गरेको छ । । टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ।
चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही हुने भन्दै विभागले चेतावनी समेत दिएको छ । त्यसैगरी, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने निर्णय भएको केसीको भनाइ छ ।




