काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सुरु भएको हो ।
महाधिवेशन उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रमस्थल पुगिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी हुँदैछन् ।
खुलामञ्चमा कांग्रेसका प्रतिनिधिसहित हजारौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको छ । कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
आज उद्घाटन समारोह हुने र सोमबार तथा मंगलबार बन्दसत्र सञ्चालन हुने कार्यतालिका छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ ।




