काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खनाल अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनी पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।
प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन् । अस्ट्रेलिया भ्रमणका क्रममा उनले अक्टोबर ८ मा आफ्ना अस्ट्रेलियाली समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।




