देश

कांग्रेसको नयाँ विधान पारित, वरिष्ठ उपसभापतिसहित २९७ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै संशोधित विधान पारित गरेको छ। १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। नयाँ व्यवस्थामा पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको छ। नयाँ संरचनाअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन्। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, महामन्त्रीको संख्या तीन कायम गरिएको छ। तीनमध्ये एक जना महिला अनिवार्य गरिएको छ भने सहमहामन्त्री १५ जना रहने व्यवस्था छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट चयन गरिनेछ। कांग्रेसले प्रवक्तासँगै सहप्रवक्ताको समेत व्यवस्था गरेको छ। केन्द्रीय सदस्यको संरचनामा पनि विभिन्न समुदाय, भूगोल, उमेर समूह र प्रतिनिधित्वलाई समेट्ने गरी कोटा निर्धारण गरिएको छ। खुलातर्फ ४५ र महिला खुलातर्फ १५ केन्द्रीय सदस्य रहनेछन्। सातै प्रदेशबाट एक महिलासहित चार–चार जना तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

समावेशी प्रतिनिधित्वतर्फ दलित समुदायबाट १४ जना, जनजातिबाट २० जना, खसआर्यबाट १८ जना र मधेसी समुदायबाट १३ जना केन्द्रीय सदस्य रहनेछन्। दलिततर्फ पाँच महिला र एक मधेसीसहितको प्रतिनिधित्व रहनेछ भने जनजाति र खसआर्यतर्फ आठ–आठ महिला तथा मधेसीतर्फ पाँच महिला रहने व्यवस्था छ।

त्यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना, पिछडिएको वर्गबाट तीन जना, थारू समुदायबाट दुई महिलासहित छ जना र श्रमिकबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य रहनेछन्। पेशागत तथा विज्ञ समूहबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा रहनेछन्।

अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि संशोधित विधानमा समेटिएको छ। यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्नेछ। यसरी निर्वाचित र मनोनीत सदस्यसमेत गरी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने कांग्रेसले जनाएको छ।

विधान सोमबार पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबार बस्ने बन्द सत्रले पारित गर्ने कार्यक्रम छ। मंगलबार बिहान १० बजेदेखि महाधिवेशनमा उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुने भएकाले निर्वाचन प्रक्रिया अघि बढाउन विधान सोमबार नै पारित गरिएको कांग्रेसले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *