देश

दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

काठमाडौँ। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार नवलपरासीको दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा बाँकेको खजुरा गाउँपालिका–२ का बस चालक ३६ वर्षीय सुरेश बिसी, ५५ वर्षीय एकेन्द्रराज रेग्मी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको निधन भएको छ। मृतक सुरेश र एकेन्द्र सहोदर मामा–भान्जा हुन्।

दसैँको पूर्वसन्ध्यामा भएको यस दुःखद दुर्घटनाले खजुराको एलगाउँ तथा कोहलपुर क्षेत्र शोकमग्न बनेको छ। दुवै मामा–भान्जाको मानखोला घाटमा दाहसंस्कार गरिएको छ।

यसैबीच, शुक्रबार काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको समेत घटनास्थलमै मृत्यु भएको थियो। २४ घण्टाको अन्तरालमा खजुरा निवासी दुई बस चालकसहित चार जना स्थानीयले ज्यान गुमाएपछि सिङ्गो बाँके जिल्ला स्तब्ध भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *