समाचार

रेशम चौधरीको विश्वास : ‘गगन थापाले देशको नेतृत्व गर्न सक्छन्’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी दिनमा देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले गणतन्त्र स्थापनाको आन्दोलनमा भूमिका खेलेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताएका हुन्।

‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ चौधरीले भने, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।’ चौधरीले नेपाली कांग्रेसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पार्टीभित्र देखिएको परिवर्तनले आफूमा आशा र विश्वास पैदा गरेको बताए। कार्यक्रममा चौधरीले संविधानले विभिन्न समुदायका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा ती अधिकार कार्यान्वयन हुन नसकेको गुनासो गरे। विशेषगरी थारूलगायत समुदायको पहिचान र अधिकारको विषय संविधानमा उल्लेख भए पनि त्यसअनुसार व्यवहार हुन नसकेको उनको भनाइ थियो। संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन,’ चौधरीले भने।

उनको भनाइमा राजनीतिक परिवर्तनसँगै संविधानमा समेटिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।
कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चौधरीले दिएको अभिव्यक्तिले थापा नेतृत्वप्रति उनको राजनीतिक अपेक्षा र देश निर्माणमा नयाँ पुस्ताको नेतृत्वप्रतिको विश्वासलाई समेत संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *