म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर पहिरो खस्न थालेको छ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको हो। पछिल्लो तीन दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोडका बासिन्दा सन्तोष ढुङ्गानाले बताए।
“असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि गलेको जमिन पछिल्लो तीन दिनयता चिरा परेर दबेको छ,” उनले भने, “आज बिहान खसेको पहिरो पाखोमा रहेका बाँसको झ्याङमा अड्किए पनि जोखिम टरेको छैन।” करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफल खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तल दबेको र बीच भागमा धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताइन्।
“दैनिकजसो जमिनमा परेको चिरा झन, झन फराकिलो हुन थालेपछि नगरपालिकाका जनप्रतिनिधिलाई खबर गरेको थिए,” उनले भनिन्, “मङ्गलबार नगर प्रमुख सुरत केसी र बुधबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश गैरेको टोलीले जोखिमयुक्त क्षेत्रको अवलोकन गरेर फर्कनु भयो।”
पहिरोले पाखोमा निर्माण भएको पक्की पदमार्गको ढलान दवेको र भाँचिएको छ। पहिरो गएको र जमिन चर्किएको ठाउँमा रहेको पानीलाई पाइपबाट बेनी ल्याएर जोखिम घटाउने प्रयास गरेको न्युरोडका बासिन्दा प्रकाश श्रेष्ठले बताए।
“यसरी जमिन चल्नुलाई हामीले खतरा र जोखिम महसुस गरेका छौं,” उनले भने, “हाम्रो क्षमताले भ्याएसम्म पाइपबाट पानी तर्काउने काम गरेका छौं। थप पहिरो सक्रिय हुन नदिन सरकारी निकायबाट तत्काल कदम चाल्न नसके ठूलो दुर्घटना निम्ताउन सक्छ।”
यो पहिरोले पाँच सयभन्दा बढी घरहरू रहेको बेनीको न्युरोड र गणेशटोल क्षेत्रलाई प्रभावित बनाउने जोखिम छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेर भूगर्भविदबाट अध्ययनका लागि प्रशासन कार्यालयमार्फत सरकारसँग सिफारिस गरिएको बताए। पाखोमा चिरा परे पनि रुखहरू नलडेका कारण जमिन दवेको हुनसक्ने नगरपालिकाका इन्जिनियरहरूले बताएका नगर प्रमुख केसीको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले नगरपालिकाको पत्रअनुसार स्थलगत अवलोकन र जोखिम अध्ययनका लागि भूगर्वविद्हरू पठाइदिन गृह मन्त्रालयमार्फत बुधबार नै पत्र पठाएको जानकारी दिए। भूगर्भविद्हरूको प्रतिवेदनको आधारमा जोखिमको अवस्था आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गरे।




