काठमाडौं । यस वर्षको दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न पुरानै तथा मौजुदा सार्वजनिक सवारीसाधनको अधिकतम उपयोग गर्नुपर्ने भएको छ ।
पछिल्ला चार–पाँच महिनादेखि यातायात व्यवस्था विभागमा सवारी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतमा जस्तो नयाँ सार्वजनिक सवारीसाधन थपिन सकेका छैनन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले तयार गरेको प्रतिवेदनअनुसार दशैँमा सार्वजनिक यातायातमार्फत मात्रै ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । निजी तथा अन्य सवारीसाधनसमेत जोड्दा यात्रुको संख्या १५ लाखसम्म पुग्न सक्ने प्रक्षेपण छ ।
यात्रुको चाप व्यवस्थापनका लागि अधिकतम ६५ हजारभन्दा बढी ट्रिप आवश्यक पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्ष बाढी–पहिरोका कारण विभिन्न सडक तथा पुलमा पुगेको क्षतिले दशैँ यात्रा थप चुनौतीपूर्ण बनेको छ । समितिले अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, गल्छी–त्रिशूली र नागढुङ्गा–मुग्लिन सडकखण्डका संवेदनशील स्थानमा हेभी उपकरणसहितको उद्धार टोली २४ घण्टा तयारी अवस्थामा राख्न सुझाव दिएको छ ।
यातायात व्यवसायीले सडकको अवस्था भरपर्दो नभएसम्म अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारीसाधन नचल्दा व्यवसायी आर्थिक संकटमा परेको र बैंकको किस्ता तिर्नसमेत समस्या भएको बताएका छन् ।
यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाका १० प्रमुख स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । ती कक्षबाट बढी भाडा असुली, दोहोरो टिकट बिक्री, ओभरलोडिङ तथा यात्रुका गुनासा सम्बोधन गरिनेछ ।
यात्रुको चाप अत्यधिक भएका दिन नियमित सार्वजनिक सवारी अपुग भए नगर बस, विद्यालय तथा कलेजका बस र सुरक्षा निकायका सवारीसाधनलाई समेत वैकल्पिक रूपमा परिचालन गर्ने तयारी छ ।
लामो दूरीका सवारीसाधनमा दुई चालक, मेकानिकल परीक्षण र चालकको स्वास्थ्य जाँच अनिवार्य गर्न पनि समितिले सुझाव दिएको छ ।
प्रतिवेदन बुझ्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक मर्मतलाई तीव्रता दिँदै सम्बन्धित सबै निकायबीच समन्वय गरेर दशैँ यात्रा सुरक्षित बनाउने प्रतिबद्धता जनाएका छन् ।




