देश

झलनाथ खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । उनले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै खनालले अभियान गठनबारे जानकारी गराएका हुन् । उनको नेतृत्वमा शनिबार भएको भेलाले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही भेलाबाट पारित निर्णय तथा अभियानका उद्देश्यबारे सोमबार सार्वजनिक गरिएको हो ।

नेता खनालले अहिलेको परिस्थितिको विश्लेषण गर्दा समाजवादको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताए । यही उद्देश्यसहित आफूहरूले अभियानको सुरुवात गरेको उनको भनाइ छ ।

उनले नेकपामा देखिएको दक्षिणपन्थी भड्कावका कारण पार्टीले पराजय भोग्नुपरेको दाबी गरे । फागुन २१ गते भएको निर्वाचनपछि सबै दल कमजोर र खुम्चिएको पनि उनले बताए ।

अभियानमा नेता हरिबोल गजुरेल पनि जोडिएका छन् । गजुरेलले वर्तमान सरकारले जनताका समस्या समाधान गर्न नसक्ने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको वर्तमान जनमतलाई ‘खहरे भेल’ को संज्ञा दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *