देश

सिटौलाले दिए कांग्रेसभित्र एकताको सन्देश : अब निर्णय टार्ने समय छैन्

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक ध्रुवीकरण अन्ततः खुला शक्ति प्रदर्शनतर्फ उन्मुख देखिएको छ । पार्टीभित्रको असन्तुष्टि, विशेष महाधिवेशनको विवाद र नेतृत्वप्रति बढ्दो अविश्वासबीच संस्थापनइतर समूहले प्रदेशस्तरीय भेला तीव्र बनाएको छ । त्यसैक्रममा मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अब ढिलाइ नगरी निर्णयमा पुग्नुपर्ने संकेत गरेका छन् ।

सिटौलाले जेठ १० गतेभित्र सबै प्रदेशमा छलफल सकाएर निष्कर्षमा पुग्नुपर्ने धारणा राख्दै पार्टीभित्रको अन्योल धेरै समयसम्म तान्न नहुने बताएका हुन् । “अब के गर्ने हो, जेठ १० भित्र गरिसक्नुपर्छ,” उनले भेलालाई सम्बोधन गर्दै भने, “त्यसभन्दा पछि ढिला हुन्छ, परिस्थिति झन् जटिल बन्न सक्छ ।”

पार्टीभित्र संस्थापन र इतर समूहबीच बढ्दै गएको अविश्वासका बीच विराटनगर भेला केवल ‘सुझाव संकलन’ मा सीमित नरहेको विश्लेषण हुन थालेको छ । भेलामा डा। शेखर कोइराला पक्षका नेता केदार कार्कीदेखि देउवानिकट नेतासम्मको उपस्थिति देखिनु कांग्रेसभित्र नयाँ समीकरणको खोजी भइरहेको संकेतका रूपमा हेरिएको छ ।

सिटौलाले पत्रकारहरूसँग कुरा गर्दै प्रदेशस्तरीय छलफलमार्फत कार्यकर्ताको वास्तविक भावना बुझ्ने प्रयास भइरहेको बताए । उनले पार्टी केन्द्रमा सीमित केही नेताले मात्रै निर्णय गर्दा संगठन कमजोर बन्दै गएको आरोपसमेत लगाए । “काठमाडौंमा बसेर सबै कुरा थाहा हुँदैन,” उनले भने, “देशभरका कार्यकर्ताको भावना समेट्नैपर्छ ।”

विशेष महाधिवेशनको विषयले कांग्रेसभित्र गहिरो विभाजन सिर्जना गरेको भन्दै उनले त्यसलाई चाँडै समाधान नगरे पार्टी थप कमजोर बन्ने चेतावनी दिए । उनका अनुसार कांग्रेसभित्रको असंगठित अवस्था केवल आन्तरिक समस्या मात्र नभई लोकतान्त्रिक शक्तिकै कमजोरी बन्न सक्ने खतरा छ ।

राजनीतिक वृत्तमा अहिले कांग्रेसको यो गतिविधिलाई आगामी महाधिवेशनको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । प्रदेशस्तरीय भेलाको नाममा सुरु भएको अभियान अन्ततः नेतृत्वमाथि दबाब सिर्जना गर्ने रणनीतिका रूपमा विकसित हुन सक्ने आकलन गरिएको छ ।

पार्टीभित्र देखिएको अविश्वास, समानान्तर छलफल र सार्वजनिक रूपमा व्यक्त हुन थालेका असन्तुष्टिले कांग्रेस एकताको नाराभन्दा गुट व्यवस्थापनमै बढी अल्झिएको टिप्पणीसमेत हुन थालेको छ । अब जेठ १० सम्म हुने भनिएका भेलाहरूले कांग्रेसभित्रको शक्ति समीकरण कुन दिशामा मोडिन्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *