काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार, अव्यवस्थित पार्किङ शुल्क व्यवस्थापन तथा बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूको सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले दीर्घकालीन आपूर्ति सुरक्षा, उपभोक्ता हित संरक्षण र औद्योगिक पुनर्जीवनका विषयमा जोड दिएका हुन् ।
नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न भण्डारण क्षमता विस्तार अनिवार्य रहेको बताए । उनले भारतको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले आपूर्तिमा सहजता ल्याएको उल्लेख गर्दै सुदूरपश्चिममा पनि भण्डारण संरचना निर्माण आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार पेट्रोलियम भण्डारण क्षमता वृद्धि नगरेसम्म आपूर्ति समस्या दोहोरिरहने जोखिम रहन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा कार्कीले व्यवसायिक क्षेत्रमा अव्यवस्थित पार्किङ शुल्कले उपभोक्ता मारमा परेको बताइन् । उनले निश्चित समयसम्म निःशुल्क पार्किङको व्यवस्था गर्नुपर्ने र त्यसपछि मात्र शुल्क वा जरिवाना लिनुपर्ने व्यवस्था गर्न सुझाव दिइन् । बैंक तथा व्यवसायिक प्रतिष्ठानले सेवाग्राहीलाई निःशुल्क पार्किङ सुविधा दिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले देशभरका पुराना उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल अनुगमन आवश्यक रहेको बताए । उनले उदयपुर सिमेन्ट उद्योगसहित विभिन्न बन्द उद्योगहरूको अवस्था गम्भीर रहेको उल्लेख गर्दै समितिलाई स्थलगत अनुगमन गर्न आग्रह गरे ।
उनले औद्योगिक क्षेत्रहरूमा टिप्परका कारण हुने धुलो र प्रदूषणले स्थानीय जनजीवन प्रभावित भएको भन्दै समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
बैठकमा अधिकांश सांसदहरूले पेट्रोलियम आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोज्नुपर्ने, बन्द उद्योग पुनः सञ्चालन गर्नुपर्ने तथा उपभोक्ता हित संरक्षणमा कडाइ गर्नुपर्नेमा जोड दिएका थिए ।




