पर्सा । औद्योगिक तथा व्यापारिक नगरी पर्सा र बारामा पनि आर्थिक गणना हुने भएको छ ।
‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना भन्ने’ नारासहित राष्ट्रिय औद्योगिक गणना २०८२ सञ्चालन गर्न लागिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आर्थिक गणना गर्न लागेको सम्बन्धित निकायले आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरे ।
राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साले गणकहरु खटाएर विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रत्येक उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक अन्य विभिन्न प्रकारका सङ्घसंस्था तथा कार्यालय, प्रतिष्ठानहरूमा तथ्याङ्क सङ्कलन गर्न लागेको हो ।
सहायक प्रजिअ पोखरेलले आआफ्नो प्रतिष्ठानका क्रियाकलापसम्बन्धी सत्यतथ्य विवरण उपलब्ध गराई राष्ट्रिय आर्थिक गणना, २०८२ सफल पार्न आवश्यक सहयोग र समन्वय गरिदिन सबैसँग अनुरोध गरेका छन् । “यस राष्ट्रव्यापी कार्यमा सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घलगायत सबै प्रकारका निकायहरुलाई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ”, उनले भने, “तपाईँहरुले उपलब्ध गराउने विवरण कर प्रयोजन, वा अन्य कुनै पनि निकायमा प्रमाणको रुपमा पेस नगरिने र तपाईँहरूले दिनुभएको विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने कानुनी व्यवस्था रहेको छ । अतः ढुक्क भएर आफ्नो व्यवसाय र प्रतिष्ठानको सही र पूर्ण विवरण दिनुहुन सबै सरोकारवालाहरुमा अनुरोध गरिन्छ ।”
आर्थिक गणनामा दर्ता भएका वा नभएका, स्थायी वा अस्थायी सबै प्रकारका आर्थिक गतिविधि गर्ने प्रतिष्ठान र व्यवसायले यो गणनामा भाग लिन सक्ने बताइएको छ ।




