काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीकै उपस्थितिमा जवाफ आवश्यक रहेको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो।
सुकुम्बासी बस्ती हटाउने अभियान, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग जोडिएका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने कांग्रेसको अडान छ। गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बैठकमा नआएपछि कांग्रेस सांसदहरू बैठकमा सहभागी नभएका हुन्।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकको औचित्य नरहेको टिप्पणी गरे। उनका अनुसार प्रधानमन्त्री आएर जवाफ दिने सुनिश्चितता भए मात्र कांग्रेस बैठकमा सहभागी हुनेछ। आङ्देम्बेले समिति सभापति हरि ढकाललाई पटक–पटक प्रधानमन्त्रीलाई उपस्थित गराउन आग्रह गरिएको भए पनि त्यसअनुसार पहल हुन नसकेको बताए। उनले प्रधानमन्त्रीसँग संवेदनशील विषयमा स्पष्ट धारणा र जवाफ आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक दोस्रो पटक प्रभावित बनेपछि सरकार र प्रतिपक्षबीचको दूरी अझ बढेको विश्लेषण गरिएको छ। संसदीय समितिमा समेत सहकार्य कमजोर बन्दै गएको संकेत देखिएको भन्दै राजनीतिक वृत्तमा यसको चर्चा हुन थालेको छ।




