देश

जनताको अपेक्षा अनुसार कानुन बनाउन रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुन निर्माण गर्दा जनताको आवश्यकता, भावना र हितलाई प्राथमिकतामा राख्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले सांसदहरूलाई सामाजिक प्रतिष्ठाभन्दा जिम्मेवार नीति निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

लामिछानेले सरकारले ल्याएका अध्यादेश र नीतिगत निर्णयहरू जनताको हितमा आधारित रहेको दाबी गर्दै विकास निर्माण र कानुनी सुधारलाई तीव्र बनाउन ती कदम चालिएको बताए । “सरकारले हरेक निर्णय सोचविचार गरेर गरिरहेको छ । जनतालाई अप्ठ्यारो पर्ने गरी कुनै कदम चालिएको छैन,” उनले भने ।

उनले परिवर्तनको आशासहित जनताले रास्वपालाई मत दिएको उल्लेख गर्दै सांसदहरूलाई आफूहरू सर्वगुण सम्पन्न भएको भ्रममा नपर्न सुझाव दिए । विगतका राजनीतिक दलहरूले लामो संघर्षमार्फत व्यवस्था परिवर्तन गरेको स्मरण गर्दै अब जनताको जीवनस्तर बदल्ने जिम्मेवारी नयाँ पुस्तामाथि आएको उनको भनाइ थियो ।

“व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था बदलिएको छैन । यही कारण जनताले हामीमाथि भरोसा गरेका हुन्,” उनले भने, “विभिन्न विचार र दलमा आस्था राख्ने नागरिकले पनि परिवर्तनको अपेक्षासहित समर्थन गरेका छन्, त्यसैले कसैको अपमान गर्ने छुट कसैलाई छैन ।”

सभापति लामिछानेले सांसदहरूलाई मुलुकप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्दै आफूहरू इतिहास निर्माण गर्ने उद्देश्यसहित राजनीतिमा आएको बताए । “हामी व्यक्तिगत लाभका लागि होइन, देशको भविष्य बदल्ने अभियानमा छौं,” उनले उल्लेख गरे ।

उनले भूमिहीन र सुकुमवासी समस्याको स्थायी समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने तयारी गरिरहेको जानकारी पनि दिए । संविधानको मर्मअनुसार सबै नागरिकको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता सरकारले लिएको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश सिफारिस प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढाइएको उल्लेख गर्दै लामिछानेले सरकारले आगामी बजेटलाई जनमुखी र प्रभावकारी बनाउन तयारी गरिरहेको बताए । साथै, “सिङ्गो देश नै हाम्रो निर्वाचन क्षेत्र हो” भन्ने भावनाका साथ काम गर्न सांसदहरूलाई आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *