वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा वन्यजन्तु वारपार गर्न दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ ।
निकुञ्ज क्षेत्रभित्र सवारीसाधनको चाप बढ्दै जाँदा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम बढेकाले आठ किलोमिटर क्षेत्रमा ओभरपास निर्माण गर्न सुझाव दिइएको हो ।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगत ले निकुञ्ज क्षेत्र अतिसंवेदनशील भएकाले सडक विस्तार गर्दा जनावरमैत्री संरचनामा ध्यान दिन आग्रह गरे ।
उनका अनुसार सवारीसाधनको ठक्करबाट हालसम्म दुई दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भइसकेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा एउटा चितुवा, दुई वटा जरायो, पाँच वटा चित्तल र १५ वटा बाँदर मरेका छन् ।
अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधन लखेट्ने तथा मानव–वन्यजन्तु द्वन्द्वसमेत हुने गरेको छ ।
सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले निकुञ्ज क्षेत्रमा ओभरपास निर्माणलगायत सुझाव सडक विभागमा पठाइएको जानकारी दिए ।




