काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई परम्परागत र प्रभावहीन दस्तावेजको संज्ञा दिएका छन्। सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले त्यसमा ठोस परिवर्तनको स्पष्ट दिशा नदेखिएको बताएका हुन्।
केसीले सरकारको कार्यक्रम पुरानै शैलीमा सीमित रहेको टिप्पणी गर्दै मुलुकले अपेक्षा गरेको नयाँ सोच र कार्यदिशा नपाइएको धारणा राखे। उनले नीति तथा कार्यक्रममा केही नयाँपन देखाउन खोजिए पनि समग्र रूपमा त्यसले ठूलो परिवर्तनको संकेत नदिएको बताए।
उनले आगामी बजेटमार्फत सरकारले आफ्नो प्राथमिकता कसरी कार्यान्वयन गर्छ भन्ने विषय महत्वपूर्ण हुने उल्लेख गरे। मुलुकको सीमित स्रोत र जनताको अपेक्षाबीच सन्तुलन मिलाउने गरी बजेट आउँछ कि आउँदैन भन्ने हेर्न बाँकी रहेको उनको भनाइ थियो।
केसीले नीति र कार्यक्रमभन्दा कार्यान्वयन पक्ष बढी महत्वपूर्ण हुने भन्दै सरकारको वास्तविक परीक्षा बजेट र त्यसपछिका कदमबाट हुने संकेत गरे।




