खेलकुद

दर्शक तान्न क्यानको नयाँ रणनीति, त्रिकोणात्मक शृंखलाको टिकट सस्तो

काठमाडौं । नेपाल क्रिकेट संघ ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि टिकट दर घटाएको छ । क्यानले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार नेपालको खेल हेर्न दर्शकले दुई सय रुपैयाँ तिर्नुपर्नेछ भने अन्य खेलका लागि टिकट दर एक सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि ओमान र यूएईविरुद्धको शृंखलामा टिकट मूल्य महँगो भएको भन्दै आलोचना भएपछि दर्शक सहभागिता अपेक्षाकृत कम देखिएको थियो । त्यसैको प्रभावस्वरूप यसपटक सुरुदेखिनै सुलभ मूल्य निर्धारण गरिएको जनाइएको छ ।

त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेल को कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ । टोलीमा अघिल्लो शृंखलामा रहेका बसिर अहमद बाहिरिँदा इशान पाण्डे ले स्थान पाएका छन् ।

नेपालले मंगलबार घरेलु मैदानमा स्कटल्यान्ड विरुद्ध खेल्दै शृंखलाको सुरुआत गर्नेछ । त्यसपछि शनिबार अमेरिका सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *