काठमाडौं । सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै दलित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन्। आइतबार माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटको प्रयास असफल भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। आफन्तहरूले न्यायको माग लिएर सम्पर्क गर्न खोज्दा समेत समय नदिएको आरोप उनीहरूले लगाएका छन्।
प्रदर्शनको नेतृत्व गर्दै संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले घटनालाई प्रहरी हिरासतभित्र भएको गम्भीर मानवअधिकार उल्लंघनको रूपमा व्याख्या गर्दै निष्पक्ष अनुसन्धानको माग गरे।
उनका अनुसार, सरकारी छानबिन समितिप्रति समुदायलाई विश्वास छैन। गृह प्रशासनकै संरचनाभित्र बनेको समितिले स्वतन्त्र निष्कर्ष निकाल्न नसक्ने आशंका उनले व्यक्त गरे।
श्रीपालिले घटनास्थल प्रहरी चौकीमै भएकाले छानबिन प्रक्रिया पनि त्यही तहबाट पारदर्शी रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। साथै पीडित परिवारलाई कानुनी प्रक्रिया अघि बढाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।
प्रदर्शनकारीहरूले दलित समुदायमाथि हुने हिंसा, हत्या र विभेद अन्त्य गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै सडकमा नाराबाजी गरेका थिए। उनीहरूले न्याय नपाए आन्दोलन थप सशक्त बनाइने चेतावनीसमेत दिएका छन्।
प्रधानमन्त्री तथा गृह प्रशासनको जिम्मेवारीमा रहेका बालेन्द्र शाह प्रति लक्षित यस प्रदर्शनले दलित अधिकार र प्रहरी निगरानी प्रणालीबारे नयाँ बहस सुरु गराएको छ।




