काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आपसी मतभेदलाई बिर्सेर १५ औँ महाधिवेशनमा लाग्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत घिमिरेले अब बिशेष महाधिवेशन र परिवर्तित नेतृत्वका बिषयमा पक्ष/बिपक्षमा बहस गर्नुको कुनैं औचित्य नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘यतिबेला नेपाली कांग्रेस इतिहासको चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको छ।पार्टीले बिशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको छ।यस परिवर्तनलाई राज्यको संवैधानिक अङ्ग निर्वाचन आयोगले तत्कालै र सम्मानित सर्वोच्च अदालतले समेत केही दिन अघि नैं बैधानिक ठहर गरिसकेको छ।यस परिप्रेक्ष्यमा अब विशेष महाधिवेशन र परिवर्तित नेतृत्वका विषयमा पक्ष÷विपक्षमा बहस गर्नुको कुनैं औचित्य छैन।अहिलेको हाम्रो दायित्व, जिम्मेदारी र कर्तब्य पार्टीलाई एकताबद्ध राख्ने तर्फ अग्रसर हुनु हो।यसका लागि हामी सबै सचेत र गम्भीर बनौं । बिगतका आपसी मतभेद र कटुतालाई भुलेर आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टीको १५औं महाधिवेशन निर्धारित मितिमैं सम्पन्न गर्न कृयाशिल बनौं।’
महामन्त्री घिमिरेले पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न आफूहरु आतुर रहेको बताका छन् । उनले भनेका छन्, ‘हामी पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न तयार र आतुर छौं।सबै भेला,छलफल यहीँ गरौं र पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिऔं।’




