काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भएको शिष्टाचार भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विचार आदानप्रदान गरिएको थियो। सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मित्रवत् र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै भविष्यमा यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले एक चीन नीतिप्रति नेपालको अडिग प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट धारणा राखे ।
उनले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति र यातायात तथा कनेक्टिभिटी विस्तारमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो। साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनलाई गति दिनुपर्ने आवश्यकता पनि व्यक्त गरे । सभामुख अर्यालले सन् २०२२ डिसेम्बर १२ मा नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारी कार्यान्वयन गर्दै दुवै देशका विधायिकी निकायबीच सहकार्य अझ विस्तार गरिने बताए । भेटमा चिनियाँ राजदूत माओमिङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहअस्तित्व र असल छिमेकी भावनामा आधारित रहेको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे ।
राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानमा चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै एक चीन नीतिप्रति नेपालको स्पष्ट अडानको प्रशंसा गरे । उनले दुवै देशका संसद्बीच अनुभव आदानप्रदान, उच्चस्तरीय भ्रमण तथा सहकार्य विस्तार आवश्यक रहेको बताउँदै संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिनुभयो। साथै सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।




