काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपेक्षाभन्दा राम्रो नतिजा ल्याएको थियो । तर परिणाम सार्वजनिक भएपछि केही नवनिर्वाचित सांसदहरूको व्यवहार र अभिव्यक्ति विवादमा तानिन थालेका छन् ।
निर्वाचन परिणाम आउनासाथ केही सांसदहरू अस्पताल, सरकारी कार्यालय तथा स्थानीय तहमा पुगेर निर्देशन दिने शैलीमा प्रस्तुत भएको आरोप लाग्दै आएको छ । यसै क्रममा धादिङका स्थानीय तहलाई सडक कर नउठाउन चेतावनी दिएको भन्दै रास्वपाकी सांसद आशिका तामाङको अभिव्यक्तिको स्थानीय तहहरूले प्रतिवाद गरेका थिए ।
त्यस्तै, अर्का सांसद खगेन्द्र सुनारले शिक्षकप्रति दिएको विवादास्पद अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि आलोचना भएको थियो ।
यस्ता गतिविधि बढ्दै गएपछि रास्वपाले चैत पहिलो साता सांसदहरूको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सभापति रवि लामिछानेले अनुशासन उल्लंघन भएमा सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएका थिए । उनले पार्टीको विधानअनुसार रहेको ‘राइट टु रिकल’ व्यवस्था कडाइका साथ लागू गरिने बताएका थिए ।
तर त्यसपछि पनि केही सांसदका विवादास्पद अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । पूर्वएआईजी विश्वराज पोखरेल, जो ओखलढुंगाबाट निर्वाचित रास्वपा सांसद हुन्, उनको विद्यालयका प्रधानाध्यापकप्रति गरिएको व्यवहारको भिडियो सार्वजनिक भएपछि आलोचना भएको छ ।
त्यसैगरी सांसद खगेन्द्र सुनारले सिन्धुलीको हिरासतमा युवकको मृत्यु प्रकरणबारे दिएको अभिव्यक्ति पनि विवादमा परेको छ । उनले प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गर्दै कारबाहीको मागसहित कडा शब्द प्रयोग गरेका थिए ।
घटनाको अनुसन्धान जारी रहे पनि सांसद सुनारको अभिव्यक्तिलाई लिएर पनि प्रश्न उठेको छ ।यसबीच, रास्वपाभित्र अनुशासन र जनप्रतिनिधिको आचरणबारे बहस सुरु भएको छ । पार्टीले घोषणा गरेको ‘फिर्ता बोलाउने अधिकार’ व्यवहारमा कत्तिको लागू हुन्छ भन्ने विषयमा पनि चासो बढेको छ ।




